काठमाडौं । कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका दुईसय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि वर्गीकरण गरेको हो ।
जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायत विषयमा छलफल गरी मतदानस्थलको वर्गीकरण गरिएको मिश्रले बताउनुभयो । समितिले एकसय सातलाई संवेदनशील र ९९ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ ।
प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूची निर्धारण गरिएको बताउनुभयो । गत स्थानीय निर्वाचनमा दुईसय ३५ मतदानस्थल र चारसय ६८ केन्द्र राखिएको थियो । यसपटक मतदानस्थल एउटा घटाएर दुईसय ३४ र मतदान केन्द्र चार बढाएर चार सय ७२ कायम गरिएको छ । निर्वाचनका लागि तीन हजार सात कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीय रूपमा नै नियुक्त गरिने छ । तीनवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । कपिललस्तुमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ गरी कुल नौ पदका लागि एक सय ४३ उमेदवार छन् ।
जिल्लामा दुई लाख दुई हजार एकसय २५ पुरुष, एक लाख ७६ हजार एकसय पाँच महिला र दुई अन्य गरी कुल तीन लाख ७८ हजार दुई सय ३२ मतदाता छन् ।