काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन १६ दिन बाँकी रहदा राजनितिक दल र नेताहरु चुनावी प्रचारप्रसार मार्फत एक अर्को दलप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । हिजो बिहीवारदेखि निर्वाचनका लागी खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहाको रौनक बढिरहेको छ । निर्वाचन आयोगले मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि नेताहरूलाई प्रचारप्रसार गर्न भ्याईनभ्याई भएको हो ।
आआफ्ना चुनावी घोषणापत्र जारी गरेर चुनावमा होमिएका राजनितिक दलका शिर्ष नेताहरु जनतासामु एक अर्को पार्टी र नेतामाथि घोचपेच गर्नमै सिमीत रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन मात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताउनु भएको छ । ठूलो मूल्य चुकाएर आएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उहाँले आग्रह गर्नुभयो। आफ्नो गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई आज सम्बोधन गर्दै देउवाले भन्नुभयो, ’संविधान च्यात्ने काममा ओलीजीहरुको भूमिका ठूलो छ । यता नेकपा एमालेले आज दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेको छ । सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताउनु भएको छ। ओलीले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताउनुभयो ।
ओलीले यसो भनिरहदा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ओलीले काम केही नगरी गफमात्रै गरेको टिप्पणी गर्नुभएको छ । ओलीले राष्ट्रवादको झूटो कुरा गरेर जनतालाई झुक्काएको महतको टिप्पणी छ । खेलकुद क्षेत्र लुम्बिनी प्रदेशस्तरीय समन्वय प्रचार–प्रसार उपसमितिको कार्यक्रममा बोल्दै महतले सम्बन्धित बोल्नुपर्ने ठाउँमा वार्तामा ओलीले चुइँक्क नबोलेको आरोप लगाउनुभयो ।
आगामी मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धीका रूपमा सत्ता गठबन्धन र ओली नेतृत्वको गठवन्धन रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाउनु भएको छ। गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उहाँले ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाउनुभयो।
राजनीतिक दलहरूले हिजो बुधवार देखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई अगाडि बढाएका छन् । आयोगले आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ । राजनितीक दल भने एक अर्को पार्टीमाथि आरोप प्रत्यारोपमा उत्रिरहेका छन् ।