काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र अहिले सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ ।
आज डडेलधुराको आलिताल गाउँपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटक–पटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको बताउनुभयो ।
‘अहिलेको सरकार गठबन्धनको सरकार हो’, उहाँले भन्नुभयो, ‘गठबन्धन विजयी भए मात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।’ वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘संसद् विघटन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले’, उहाँले भन्नुभयो, ‘संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोध गर्यौं।’
डडेलधुराका नागरिकले मत दिएर सहयोग गरेर आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्री–मधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने बताउनुभयो ।
‘पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ’, उहाँले भन्नुभयो, ‘त्यहाँ सम्भाव्यता अध्ययन गर्छौँ, मिले पक्की पुल नभए झोलुङ्गे पुल भए पनि बनाउनेछु ।’