काठमाडौं । नेपालको संविधान अनुसार हरेक पाँच–पाँच वर्षमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने गर्दछ । मुलुकमा विद्यमान दलहरु निर्वाचनमा सहभागी हुन्छन् भने केही स्वतन्त्र र नयाँ दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा होमिने गरेका छन् । पछिल्लो समय यूवा र नयाँ अनुहारहरु निर्वाचनमा होमिएका छन् । विश्वका विभिन्न मुलुकमा पचास वर्षमूनिका नागरिकले मुलुक हाँकेको दृष्टान्त छ तर नेपालमा विगत ३०–४० वर्षयता उहीँ अनुहार राजनीतिको शीर्षस्थानमा पुगेको देखिन्छ । सोही कारण जनताले परिवर्तन पनि चाहेको देखिन्छ । हाल विद्यमान राजनीतिक दलहरुले पनि व्यवस्था परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेका छन् । मुलुकमा यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम छ । तर यसको पनि चिरहरण हुने स्थिति बेलाबेला आउँदा मुलुकमा राजनीतिक स्थायित्व कायम रहन सकेको छैन । कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार संविधान जारी भएपनि यसलाई टिकाउन निकै मुस्किल छ ।
दलहरु चुनाव केन्द्रीत बनेका बेला आफूले गरेका काम र त्यसबाहेकका महत्वकांक्षी कामलाई जनता सामू प्रस्तुत गरेर सहानुभूति बटुल्नेतर्फ लागेका छन् । मुलुकको राजनीतिका चतुर खेलाडीका रुपमा परिचित पुष्पकमल दाहाल अहिले लालसलाम र जयनेपालले समृद्धि कायम गरेको बताइरहेका छन् । हिजो नेकपा एमालेसँग साँटगाँठ गरेका प्रचण्ड कांग्रेससँग लहस्सिएका छन् ।
यता, मुलुकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आफ्नै ढिपी छ । एमाले अध्यक्ष ओली भन्छन् एमालेले जहाँ टेक्छ त्यहाँ विकास हुन्छ । यसरी अनुमान लगाउन सकिन्छ की एमालेले नटेकेको कहाँ छ र कति विकास भएको छ । राजनीतिक दलका परिपक्व शीर्ष नेताहरुको बोलीमै ठेगान नहुँदा जनताको मतको अवमूल्यन भइरहेको बहस हुन थालेको छ ।
नेपालमा मात्रै होइन, निर्वाचन ताका हरेक देशमा एकले अर्कोलाई आरोप लगाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्ने परिपाटी कायम छ । तर, ती देशहरुमा निर्वाचन सकिएपछि विकास र समृद्धिका कुराहरुले प्रसय पाउँछन् तर, नेपालमा सरकार बनाउने र ढाल्ने तर्फ नेतहरु उद्धत देखिन्छन् । यो परिपाटीको अन्त्य नभएसम्म मुलुकको विकासले गति लिनु सपना मात्रै हो ।