काठमाडौं । दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।
जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले जानकारी दिनुभयो ।
तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन् । घोराही कारागारमा तीन सय ४९ कैदीबन्दी रहेको भएपनि मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने उहाँले जानकारी दिनुभयो ।
कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको र त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उहाँको भनाइ छ । जिल्लामा दुई ठाउँमा अस्थायी मतदानस्थल राखिने भएका छन् । त्यसमा घोराही कारागार कार्यालय र तुलसीपुर कारागार कार्यालय रहेका छन् ।
यी दुई मतदानस्थलबाट कैदीबन्दी, कर्मचारी र शिक्षकले पनि मतदान गर्न पाउने छन् । कार्यालयका प्रमुख खनालका अनुसार नामावली सङ्कलनको अवधिमा कारागारमा रहेका सबै कैदीबन्दीले अवसर नपाएका कारण धेरै भोट हाल्नबाट छुटेका छन् ।
तुलसीपुर कारागारमा हालसम्म पाँच सय ८४ कैदीबन्दी रहेका छन् । त्यसमध्ये ७७ पुरुष र १४ महिला मतदानमा सहभागी हुन पाउने तुलसीपुर कारागार कार्यालयका निमित्त जेलर रम्बा केसीले जानकारी दिनुभयो ।