काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ क्षेत्रकै मतपरिणाम आइसकेको छ ।
प्रत्यक्षतर्फको गणना सकिँदा नेपाली कांग्रेस ५७, नेकपा एमाले४४, नेकपा माओवादी केन्द्र १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १, नेपाल मजदुर किसान पार्टीले १, रािष्ट्रय जनमोर्चाले १ र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन् ।
अन्तिम चरणमा पुगेको समानुपातिकतर्फको मतगणना पनि १–२ दिनमा सकिने निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन् । समानुपातिकबाट ११० जना सांसद निर्वाचित हुनेछन् ।
समानुपातिक पद्धतितर्फको मत गणना सकिएपछि निर्वाचन आयोगले दलहरुले आफ्नो मतको आधारमा पाउने सिट संख्या यकिन गर्नेछ । समानुपातिकमा खसेको कुल सदर मतको ३ प्रतिशत मत नकटाउने दलले भने कुनै सिट पाउने छैनन् । हरेक दलले पाउने सिट निक्र्यौल भएपछि निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीबाट नामावली पठाउन राजनीतिक दलहरुलाई पत्र लेख्नेछ ।
दलहरुले आयोगमा पेश गरेको बन्दसूचीको प्राथमिकताक्रम अनुसार तोकिएको क्लष्टरको मापदण्ड अनुकुल हुनेगरी समानुपातिक सांसदको नाम आयोगलाई पठाउनुपर्नेछ । यसरी सांसदको नाम पठाउँदा दलको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्य संख्याको ३३ प्रतिशत महिला हुनुपर्नेछ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले केही दिनमै समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा पाउने सिट संख्या र समावेशीताको सिद्धान्तसहित दलहरुलाई पत्राचार गर्ने बताउनुभयो ।
प्रत्यक्षका १६५ र समानुपातिकका ११० जना गरी २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यको अन्तिम नामावली तय भएपछि निर्वाचन आयोगले एक साताभित्र निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउनुपर्नेछ । निर्वाचन परिणाम सहितको प्रतिवेदन प्राप्त गरेको ३० दिनभित्र राष्ट्रिपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । त्यस्तै, राष्ट्रपतिबाट शपथ खाएको ज्येष्ठ सदस्यले बाँकी सदस्यहरुलाई शपथ खुवाउँछ । यसका लागि संघीय संसद सचिवालयले विशेष कार्यक्रमको आयोजना गर्ने अभ्यास छ ।
प्रतिनिधिसभाको पहिलो बैठक पनि ज्येष्ठ सदस्यले सञ्चालन गर्नेछ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ । संसद सचिवालयले पनि तयारी तीब्र पारेको प्रवक्ता डा. रोजनाथ पाण्डेको भनाइ छ ।
संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र नयाँ सरकार बन्नुपर्छ ।