काठमाडौं । आज काठमाडौं विश्वको १३ औँ प्रदूषित सहर बन्न पुग्यो । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाडौं प्रदूषित सहरको १३ औँ स्थानमा पुगेको हो । बिहान काठमाडौं उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको थियो । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यसभन्दा माथि अस्वस्थ मानिन्छ । वायु प्रदुषणका कारण मानव स्वास्थ मा धेरै नै असर पर्दै गएको छ । वायु प्रदूषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दुषित हुनु हो ।
स्वच्छ हावामा विविध कारणहरूले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्ने खालको हुनु नै वायु प्रदूषण हो । अहिले वायु प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट विभिन्न किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् । खाद्यान्नदेखि सवारीसाधनसम्मको उपयोग बढ्दो छ । जसले गर्दा वातावरणमा तीव्र प्रदूषण बढिरहेको छ । जसका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारी वायु प्रदूषण कम गर्न सरकारले विभीन्न निकायहरुसँग समन्वय गरि अगाडि बढिरहेको बताउनहुन्छ । उहाँले प्रदूषणको तत्काल र दिर्घकालिन असर कम गर्न रुखविरुवा रोप्न, घर वरपर जम्म भएको धुलो पानीले पखाल्न, फोहोर र दाउरा बालेर अनावश्यक धुँवा सृजना गर्ने काम नगर्न अनुरोध गर्नुभएको छ ।
पर्यावरणमा भइरहेको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । वायु प्रदूषणका कारण मानिस अनेकौँ रोगको सिकार बनिरहेका छन् । डा. शेरबहादुर पुनका अनुसार वायु प्रदूषणले प्रत्यक्ष रुपमा श्वासप्रस्वास, आँखा, छाला लगागत दिर्घकालिन रुपमा मुटु लगायतका अंगमा असर पार्दछ ।
नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धूलोका कणले समस्या निम्त्याउँछ । ठूला कण नाक र घाँटीमा अड्किन्छन् । ससाना कण फोक्सोमै पुग्छन् । यसले रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ । छालामा सुक्खापन ल्याई चिलाउने समस्या देखा पर्छ । यि असरहरु वायु प्रदूषणले हुने गर्दछन । तर कसरी बच्ने ? यसमा स्वंयम आफै सचेत रहन जरुरी छ । प्रदूषण कम गर्न सरकारले नीति राम्रो बनाउनु पर्दछ । प्रदूषणबाट बच्न अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र अनावश्यक रुपमा घर वाहिर ननिस्किन डा पुन सुझाव दिनुहुन्छ ।
हामीले वातावरण प्रदूषण हुनबाट बच्ने उपाय समयमै अपनाउन सक्यौं भने भावि पुस्ताले पनि सहज रुपमा स्वास फेर्ने वातावरण बन्दछ । अहिले नै सचेत नभए यसले दिर्घकालिन रुपमा समस्या निम्त्याउने कुरा स्पष्टै छ । त्यसैले पर्यावरण प्रदूषित गराउने सबैखाले ग्यास तथा अन्य तत्वको न्यूनीकरण एवं नियन्त्रण कार्यमा हामी आफैँ पनि सक्रिय सहभागी बनौं र अरूलाई पनि अभिप्रेरित गरौँ ।