काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ।
माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद सुदन किरातीले जानकारी दिनुभयो ।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उहाँलाई दलको नेता बनाउने निर्णय गरेको थियो । यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा बताउनुभएको छ । सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ ।
यसैबीच माओवादी केन्द्रबाट राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन हुनुभएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता, सचेतक र उपनेता चयन गरेको हो ।
बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।