काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको एकसाताको समयसीमा सकिन लाग्दासमेत गठबन्धन दलहरुबीच नयाँ सरकार गठनबारे सहमति जुट्न सकेको छैन ।
यसबीच सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सरकारमा दाबी पेस गर्नका लागि आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका छन् ।
कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गर्नुभयो । त्यस्तै, कांग्रेसका अर्का सांसद दुर्लभ थापाले पनि आफूहरूले शुक्रबार नै संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर बुझाएको बताउनुभयो । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ सांसद रहेका छन् ।
कांग्रेस सँगसँगै नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको छ । अर्थमन्त्री जर्नादन शर्माका अनुसार माओवादीका सांसदहरूले हस्ताक्षर बुझाइसकेका छन् ।
दुवै पार्टीले आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहँदा गठबन्धन दलको बैठक अनिश्चित भएको छ । आजका लागि बैठक बस्ने भनिए पनि अहिलेसम्म बैठक बस्ने नबस्नेबारे निश्चित नभएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो।
त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पनि अहिलेसम्म बैठक बस्ने टुंगो नभए पनि साँझसम्म छलफल हुनसक्ने जानकारी दिएको छ ।