काठमाडौं।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन हुनु भएको छ।संसदीय दलको नेतामा शाहसहित, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवालगाएत ७ जनाले आकांक्षा राखेका थिए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री तथा संसदिय दलको नेताका आकांक्षी मेघराज खड्काले जानकारी दिनुभयो ।शाह प्रकाश देउवाको समर्थनमा दलको नेता बन्नुभएको हो ।
हिजो बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरुलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो तर सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।
उक्त समितिले आज दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो। तर नेताहरुबीच मनोनयन दर्ता गर्ने समय सकिँदै गर्दा सर्वसम्मत नेता चयन गर्ने सहमति भएको हो ।