काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको छ ।
प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेस गर्नु पर्ने छ ।
गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भए पनि सत्ता गठबन्धनमा नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकार गठनका लागि आह्वान भए पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने नटुंगिएको बताउनुभयो । केन्द्रबाटै निर्णय नआउँदा अनिर्णीत भएको उहाँको भनाइ थियो ।