काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २ सय ६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना उपस्थित रहेका थिए । प्रधानमन्त्रीलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिनुभएन । विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो विगतको कार्यकालको स्मरण गर्दै आफू घेराबन्दीमा परेको र जनताले संविधानलाई समेत विश्वास नगरिसकेको अवस्थामा काम गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले दलहरुप्रति जनताको ठूलो आशा भरोसा भएपनि काम गर्नै नसकेको र सच्चिनुपर्ने बेला आएकोमा जोड दिनुभएको थियो ।
पुनः संसद विघटन हुने डर र शक्ति पृथकीकरणका लागि भएपनि कांग्रेस प्रतिपक्षीमा बस्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ थियो । सरकारमा सहभागी नभएपनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ ।
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारलाई दिएको समर्थनमा शंका व्यक्त गर्दै पानी नभएको तलाउमा माछा मार्न खोजेको भए माछा नमर्ने तर्फ संकेत गर्नुभएको थियो । पटकपटक भएको संसद विघटनको स्मरण गर्दै ओलीले देउवालाई पनि स्मरण गर्न आग्रह गर्नुभएको थियो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने ओलीको अभिव्यक्तिमाथि खनिनुभयो । यो कुनै ब्रिटेन, बेलायत नभएको बताउँदै नेपालले गिरिजाप्रसादको पालाको संविधान पनि नभएको बताउनुभयो । पुनः संसद विघटन गरेर प्रतिगमन दोहो¥याउन नहुने उहाँको तर्क थियो ।
प्रतिपक्षी दलका नेता चित्रबहादुर केसीले हालको सरकारलाई आएको समर्थनबाट आफू शसंकीत भएको प्रतिक्रिया दिनुभएको छ । मिलीजुली सरकार बनाएर गल्ती कमजोरी ढाकछोप गर्न खोजेको भन्दै उहाँले यसले स्थायित्व नदिने दाबी गर्नुभयो ।
२०५१ सालको मनमोहन अधिकारीको सरकारले पनि प्रतिपक्षीको समर्थन पाएको थियो । तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाले अधिकारीलाई समर्थन गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि यसपटक अत्याधिक बहुमतसहितको प्रधानमन्त्री बन्नुभएको छ । दाहालले संसदमा उपस्थित ९९.२५ प्रतिशतको समर्थन पाउनुभएको छ ।