काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री शर्माले सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगी बिहीबार(आज) अपराह्न पदबहाली गर्नुभएको हो ।
उहाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आज नै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
मुख्यमन्त्री शर्मा रुकुमपश्चिम (२) बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँले आजै आफ्नो मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बन्नुभएको हो । उहाँहरूलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
माओवादी केन्द्रका शाही मुगु प्रदेशसभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेश भा (२) बाट निर्वाचित हुनुहुन्छ।
माओवादी केन्द्रका नेता शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम हिजो प्रदेश प्रमुख परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १÷१ गरी जम्मा २५ जना सांसदको समर्थन रहेको छ ।