काठमाडौं । सिरियाको सीमा नजिकै टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने सङ्ख्या ४८०० पुगेको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार भूकम्पका कारण टर्कीमा ३३८१ र सिरियामा १४४४ जनाको मृत्यु भएको छ । अरू कैयौँ घाइते भएका छन् भने धेरै जना बेपत्ता भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रबिन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महसुस गरिएको थियो ।
यता भूकम्प पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरूले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परेकालाई उद्धार र राहतको काम सुरु गरेका हुन् ।
सो भूकम्पमा परेकाहरूको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिएका हुन् ।
उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरूलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरूको साथमा रहेको बताएका छन् । उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरूको उद्धारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्धार अधिकारीहरूलाई भनेका छन् ।
उनले भूकम्पको क्षतिको आकलनका साथै त्यसमा परेकाहरूको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अधिकारीहरू त्यहाँ पुगेका जानकारी दिए ।