काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै डा. केसीको जुम्लामा अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगर्नुलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।
प्रवक्ता शर्माले १० साउन ०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गराउनुभएको छ ।
‘त्यही बर्ष माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहो¥याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गर्दछ ।’
डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया थाल्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई प्रवक्ता शर्माले आग्रहसमेत गर्नुभएको छ ।
डा. केसी २९ भदौदेखि जुम्लामा अनसनरत हुनुहुन्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन हुनुपर्ने, कोरोना भाइरसको पिसिआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्नेलगायत उहाँका माग छन् ।