Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि प्रचारप्रसार निषेध

राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि प्रचारप्रसार निषेध

  • सोमवार, फाल्गुण २२ २०७९

  • 408
    SHARES

  • राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि प्रचारप्रसार निषेध

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ ।

    यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

    आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

    सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।

    निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्नरगराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गरिएको छ ।

    मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगको अनुरोध छ ।


    सोमवार, फाल्गुण २२ २०७९०१:५२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij