काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति पदका दुवै उम्मेदवारहरुमा निर्वाचित भएर निष्पक्ष भूमिका निर्वाह गर्छन् भन्ने विश्वास नभएकाले राप्रपा मतदानमा सहभागी नहुने निर्णय गरेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका लिङदेनले अभिभावकिय भूमिका निर्वाह गर्ने पदका दुवै उम्मेदवार आजको दिनसम्म पनि राजनीतिमा सक्रिय भएकोले भोलिका दिनमा निष्पक्ष भूमिका निर्वाह गर्ने कुनै पनि आधार र विश्वास नदेखेकाले आफूहरुले आज हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
लिङदेनले भन्नुभयो–गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ दुवै उम्मेदवारसँग हाम्रो व्यक्तिगत टिप्पणी छैन । तर सैद्धान्तिक रुपले राष्ट्रपतिय पदलाई संविधानले नै अभिभावकिय संस्था र निष्पक्षीय रुपमा परिकल्पना गरेको छ । तर अहिले दुई उम्मेदवारहरु जो हुनुहुन्छ उहाँहरुले अहिले आजको दिनसम्म पनि सक्रिय राजीतिमा हुनुहुन्छ । अलगअलग दलबाट प्रतिनिधिसभाको निर्वाचित सदस्य हुनुहुन्छ । उहाँहरु निर्वाचित भएर भोलि निष्पक्ष भूमिका निर्वाह गर्नसक्नुहोला भन्ने हाम्रो विश्वास भएन त्यसकारणले हाम्रो आम शुभेक्षुकहरुको धारणा पनि राप्रपा यो निर्वाचनमा सहभागी नहोस भन्ने नै छ र निष्पक्षताको बारेमा पनि हामीले विश्वास गर्ने आधारहरु प्राप्त गर्न नसकेको सन्दर्भमा हाम्रो पार्टीले आज हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने, मतदान नगर्ने निर्णय गरेको हो । ’
दुवै दल र उम्मेदवारले आफूहरुसँग मत मागेको र दुवै उम्मेदवार योग्यताका हिसावले सुयोग्य हुँदाहुँदै पनि संविधानले राष्ट्रपतिको भूमिका जुन हिसावले परिकल्पना गरेको छ त्यो उहाँहरुको राजनीति संलग्नता, क्रियाशीलताको दृष्टिकोणले निष्पक्षता प्राप्त गर्न नसकिने लिङदेनको भनाइ छ ।