Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

के भन्छन् कोरोना जितेका कलाकार ?

के भन्छन् कोरोना जितेका कलाकार ?

  • गोमा परियार
  • आइतवार, आश्विन ४ २०७७

  • 2.9K
    SHARES

  • के भन्छन् कोरोना जितेका कलाकार ?

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यो समाचार तयार पार्दासम्म नेपालमा कोरोनाबाट ६२ हजार ७९७ जना संक्रमित भइसकेका छन् । साथै, कोरोनाबाट मृत्यु हुनेको संख्या ४०३ पुगेको छ । यद्यपि, यस संक्रमणबाट निको हुनेको संख्या पनि अत्याधिक रहेको छ भन्ने भुल्न मिल्दैन । नेपालमा ४५ हजार २६७ जनाले कोरोना जितिसकेका छन् । यसैबीच, देशका विभिन्न क्षेत्रका प्रतिष्ठित तथा चर्चित व्यक्तिहरुलाई पनि कोरोना संक्रमण भएको छ । उनीहरुमध्ये अधिकांश निको भएका छन् र कोही निको हुने क्रममा छन् । यसै परिपेक्षमा हामीले कोरोना जित्ने कलाकारका अनुभव समेटेका छौं ।


    आत्मबल बढाए र साबधानी अपनाए कोरोना जित्न सकिन्छ : डा. भोला रिजाल

    dr-bhola-rijal.jpg

    काठमाडौं । ‘कोरोनाको मेरो रिपोर्ट पोजेटिभ आयो भन्ने सुन्दा मलाई कति पनि ननिको लागेन’, यो भनाइ स्त्रीरोग विशेषज्ञ तथा वरिष्ठ गीतकार डा. भोला रिजालको हो ।

    यतिसारो आत्मबल भएका डा. रिजालले अन्ततः कोरोनालाई पराजित गरेरै छाडे । २१ दिनको उपचारपछि उनी निको भएका छन् । उनी आज साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

    डा. रिजाल आत्मबल बढाए र साबधानी अपनाए कोरोनालाई जित्न सकिने बताउँछन् ।

    ‘कोरोनालाई धेरै ठूलो रुपमा नलिऔं, यो जो कोहीलाई जुनबेला पनि हुन सक्छ । यसर्थ, यसमा दुःख मान्नुपर्ने केही छैन’, नेपाली नेटवर्कसँग कुरा गर्दै उनले भने, ‘आत्मबल र सावधानी अपनाए कोरोना निको भैहाल्ने रहेछ । मलाई त कोरोना पोजेटिभ आउनु र नेगेटिभ आउनुमा खासै फरक परेन ।’

    गत भदौं १३ गते डा. रिजाललाई कोरोना संक्रमण पुष्टि भयो । उनलाई केही दिनदेखि हल्का ज्वरो आइरहेको थियो पछि चेकअप गराउँदा रिपोर्ट पोजेटिभ देखियो ।

    ‘कोरोनासँग डराएर हामी स्वास्थ्यकर्मीनै भाग्यौँ भने सामान्य मानिसको अवस्था के होला ?’, उनी भन्छन्, ‘यही भएर मैले आफू जोगिएर अरुलाई कसरी जोगाउन सक्छु भन्नेतर्फ सोच्न थालेँ ।’

    श्रीमती सरलासहित आफूलाई पनि कोरोना पुष्टि भएपछि डा. रिजाल त्यसको भोलिपल्ट ह्याम्स अस्पतालको आइसोलेसनमा बस्न गए । उनलाई लक्षण पनि खासै देखिएको थिएन ।

    ‘कोरोना जित्नलाई आइसोलेसनमा बस्दा आत्मबल कत्तिपनि नघटाउने, बाफ लिइराख्ने र सधैँ सकारात्मक सोंच राख्नुपर्ने रहेछ’, उनी भन्छन्, ‘साथै, बेसार, ज्वानो, गुर्जो, दालचिनी र पुदिनासँगै तातोपानी खानुपर्ने रहेछ । म पनि अरुलाई यही दिन चाहन्छु ।’

    जनचेनतका सबै मापदण्ड पूरा गरेकाले कोरोनालाई जित्न सपल भएको डा. रिजालको भनाइ छ । उनको मात्र नभएर अहिले उनको परिवारका सबै सदस्यको रिपोट नेगेटिभ आएको छ ।

    कोरोना सोंचेझै भयंकर रै‘नछ : खेम सेञ्चुरी

    Khem century.jpg
    लोक तथा दोहोरी गायक खेम सेन्चुरीलाई गत भदौ १६ गते कोरोना पोजेटिभ देखियो । हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि उनि हिमालय बिध ल्याव कुपन्डोलमा चेकअप गर्न गए । मन सन्तुष्टिको लागि उनले पिसिआर टेस्ट गराए ।

    बिहान टेस्ट गराएर कोठामा फर्केका खेमको मनमा एक प्रकारको द्धन्द्ध चलिरह्यो, नतिजा के आउने हो भनेर ! उनलाई सामान्य रुघाखोकी लागेको थियो, त्यसैले रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा उनी लगभग ढुक्क थिए ।

    सोही दिन साँझ ७ बजेतिर खेम आफ्नै काममा भुलिरहेका थिए । उनको मोबाइलमा घण्टी बज्यो, फोन थियो अस्पतालको ।


    खेम : हेल्लो !

    अस्पताल : खेमजी तपाईँको कोरोना रिपोर्ट पोजेटिभ आएको छ, नआत्तिकन घरमै आइसोलेसनमा सुरक्षित भएर बस्नुहोला !

    खेम : म अस्पताल जान त पर्दैन नि डाक्टर साब ?

    अस्पताल : पर्दैन, होम आइसोलेशन नै सुरक्षित छ । घरमै आराम गरेर तातोपानी पिउनुहोला ! व्यायाम पनि गर्नुहोला र खानपानमा पनि बढी नै ध्यान दिनुपर्छ है !

    (फोन काटिन्छ ।)

    यता खेमको मन मडारिन्छ । उनलाई मरिन्छ कि भन्नेमा डर लागेन । बरु नसोचेको कुरा आइलागेकोमा चिन्ता लाग्न थाल्यो । घर परिवार अर्थात् बाबा–आमाले थाहा पाएपछि के प्रतिक्रिया जनाउनुहोला, साथीभाइको व्यवहार कस्तो रहला, समाजले के भन्ला जस्ता डरले उनलाई सतायो ।
    खेमलाई ज्वरो आउने, खोकी लाग्ने, खाना मिठो नलाग्ने र एक्लोपन महसुस हुने जस्ता लक्षण देखिए ।

    ‘अनेक खाले लक्षण देखिँदा सुरुमा मलाई गाह्रो पनि भएको थियो । खोकीले बोल्नै मिल्दैनथ्यो’, उनले थपे, ‘योगा र व्यायाम गरे, तातोपानी खाइरहे, सकारात्मक कुरा सोच्ने गर्थेँ ।’

    खेमलाई सुरु–सुरुमा दालभात खाएपछि भोमिट हुन्थ्यो । पछि बिस्तारै उनले जबरजस्ती भए पनि खाना खान थाले ।

    ‘धेरैभन्दा धेरै तातोपानी, बेसारपानी, दालचिनी पानी, सुपहरु र तितेपातीलगायत भिटामिन तथा फलफुल खाए’, उनी अनुभव सुनाउँछन्, ‘ज्वरो आउँदा र खोकी लाग्दा औषधी खाए । तर, सबैभन्दा बढी त मैले पोल्ने तातोपानी खाएँ ।’

    भदौ ३० गते खेम पुर्ण रुपमा निको भए । कोरोना रिपोर्ट पनि नेगेटिभ आयो ।

    ‘बाहिर भनिएको जस्तो कोरोना भयंकर रै‘नछ । कोरोनाभन्दा पनि यसबारे फैलाइएको डर, त्रास र हाउगुजी कैयौं गुना खतरनाक छ’, उनी भन्छन् ।

    साथीहरुको सहयोगका कारण पनि आफू छिटो निको भएको खेमको तर्क छ ।

    ‘विनोद भण्डारी, चन्द्र शर्मा, पृथ्वी थकाली र शम्भु कुवँर जस्ता कलाकार साथीहरुको साथ र प्रेरणाले निको भएको हुँ ।’

    ‘सोंचेझै जिन्दगी रैन’छ’का गायक खेमको जिन्दगीको नसोचेको कुरा आयो । तर, त्यसबाट उनी पार भए । उनी भन्छन्, ‘जिन्दगी साँच्चिकै सोंचेझैं रहेनछ ।’

    खेमले अहिले आफू डाक्टरको सल्लाहअनुसार केही दिन घरमै आराम गरिहेको बताए ।

    कोरोनालाई जित्ने भनेकै आत्मविश्वासले हो : टंक बुढाथोकी

    tanka.jpg

    संगीतकार टंक बुढाथोकीले पनि कोरोनालाई जिते । गत भदौ १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनि घरमै आइसोलेसनमा बसे ।
    बिरामी भएको नवौं दिनमा चेकअप गर्दा उनलाई कोरोना पुष्टि भएको हो ।

    ‘सन्चो नभएका कारण पोजेटिभ देखिनुुभन्दा अगाडिदेखि नै आइसोलेसन बसे’, उनी भन्छन्, ‘सुरुमा त निकै डर लाग्थ्यो । तर, पछि परिवार तथा साथीहरुबाट हौसला र माया पाउँदा खास डर लागेन ।’

    टंकलाई पनि कुनै लक्षण देखिएका थिएनन् । उनले पनि तातोपानी, अदुवापानी र गुर्जो खाए । साथै, शारीरिक व्यायाम गरेर निको भएको उनी बताउँछन् ।

    टंक भदौ २५ गते १० दिनपछि संक्रमणबाट मुक्त भए । परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आयो । त्यसपछि उनी ढुक्क भए ।
    कोरोना बाहिर प्रचार गरिएको जस्तो डरलाग्दो आफूलाई नलागेको टंकको भनाइ छ ।

    ‘कोरोना बाहिर भनिएजस्तो डरलाग्दो लागेन । मलाई कोरोना छ छाती, टाउको दुख्यो भनेर सोच्यो भने अटोमेटिक दुख्छ’, उनी थप्छन्, ‘कोरोनालाई जित्ने भनेकै आत्मविश्वासले हो ।’

    अहिले टंक सामाजिक दूरी कायम राखेर गीतसंगीतको नियमित काममा फर्किसकेका छन् । उनको कसरी कसरी –३ बजारमा आउँदैछ ।

    ‘आईसोलेसनमा रहँदा मन भुलाउन निकै गाह्रो भयो । कोरोना भुल्नलाई सिरियल र गीतहरु हेर्ने गर्थे’, आइसोलेसन अनुभव यसरी सुनाए उनले ।

    घरेलु विधिबाटै कोरोना निको हुने रहेछ : देवीराम पराजुली ‘भोक लाग्यो’

    devi.png

    कोरोनालाई जितेका अर्का कलाकार हुन् देवीराम पराजुली । हास्यकलाकार पराजुली यतिबेला अमेरिकामा छन् ।

    भदौ १७ गते बुधबार पराजुलीलाई कोरोना पोजेटिभ देखियो । कार्यक्रमका साथै घुमघामका लागि अमेरिका गएका पराजुलीलाई कन्ट्याक्ट ट्रेसिङबाट कोरोना देखिएको हो ।

    साबधानी अपनाएर र खानपानमा ध्यान दिएर आफूले कोरोना जितेको पराजुली बताउँछन् ।

    ‘कोरोना लाग्दैमा म आत्तिन । स्वास्थ्यको ख्याल अरुवेला भन्दा धेरै गरें । खानपानमा ख्याल गरें । यसरी मैले कोरोना जितें’, उनी भन्छन्, ‘कोरोना लाग्यो भनेर डराउन, आत्तिन हुँदैन यो निको हुने रोग हो । यो बाहिर देखाइएजस्तो खतरनाक पनि छैन ।’

    तर, स्वास्थ्यका दृष्टिले कमजोर मानिसका लागि भने कोरोना अलि जटिल समस्या रहेको उनको भनाइ छ ।

    ‘सकेसम्म आफूलाई कोरोना नलागोस् भन्ने कुरामै सचेत हुनुपर्छ । यदि लागिहाल्यो भने पनि घरमा नै सुरक्षित बस्नुपर्छ’, उनी थप्छन्, ‘कोरोना घरेलु विधिबाट उपचार गरेरै निको हुने रहेछ ।’

    एउटा पनि सिटामोल नखाइ कोरोना जितेँ : अनुज अधिकारी

    anuj.jpg

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङका अध्यक्ष अनुज अधिकारीलाई भदौ १२ गते कोरोनाको संक्रमण पुष्टि भयो ।

    २१ गते गरिएको दोस्रो परिक्षणमापनि २४ गते आएको रिपोर्टमा पुन: पोजेटिभ देखियो । भदौ ३० गते तेस्रो परिक्षण गराउदा असोज १ गते  अनुजको रिपोर्ट नेगेटिभ आएको हो ।

    अधिकारी मेलामहोत्सव, लाइभ दोहोरी कार्यक्रममा रुचाइएका कलाकार हुन् । कलाकारितासँगै पत्रकारितालाई पनि अगाडि बढाइरहेका अधिकारी पत्रकारहरुमा लमजुङकै पहिलो कोरोना संक्रमित बने ।

    सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएपछि चेकअप गराए । तर, रिपोर्ट नेगेटिभ आउँछ भन्ने कुरामा उनी ढुक्क थिए ।

    ‘१० गते चेकेकअप गरे । रिपोर्ट नेगेटिभ आउछ भन्नेमा ढुक्क थिएँ । १२ गते बिहानै नुहाइधुवाइ गरी फ्रेस भएर बाहिर निस्कने सुरमा थिए । मोबाइलमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद शर्माको फोन आयो ।

    अनुज : नमस्कार सर ।
    प्रजिअ : के गर्दै हुनुहुन्छ, कस्तो छ ?
    अनुज : म त बाहिर निस्कन लागेको सर ।

    प्रजिअ : बाहिर ननिस्कनुस, घरमै बस्नुस् एकछिनमा गाडि लिन आउछ, नआत्तिनुस् सबै ठीक हुन्छ । फोन कट्यो ।

    अनुज अवाक भए, केही सोच्न–बोल्न सकेनन् । घरमै रोकिए । उनको पहिलो मात्र नभएर दोस्रो रिपोर्ट पनि भदौ २१ गते पोजेटिभ नै आयो ।

    समाचार लेख्दा र बाहिर बोल्दा कोरोना केही पनि होइन भनिए पनि आफूलाई लाग्दा भने डर लागेको उनले अनुभव सुनाए ।

    अनुजलाई घरबाट दिदीको फोन आयो । दिदी फोनमा रुन थाल्नुभयो । दिदी रोएको सुन्दा उनी पनि थामिएनन् । अनुजका आँखाबाट आँशु खस्न थाले । जसोतसो दिदीलाई सम्झाएर उनले फोन राखे । बाहिर गाडीको आवाज सुनियो । अनुजको मनको डर झनै बढ्यो ।

    ‘अस्पतालबाट गाडी लिएर मलाई लिन आएका थिए । सबै सेता कपडा (पिपिई) लगाएका मानिसहरु देख्दा म साह्रै आत्तिए’, उनी थप्छन्, ‘तर, मसँग नजानुको विकल्प थिएन र गए बेशीसहरस्थित शहरी विकास कार्यालयको भवनको आइसोलेसनमा ।’

    त्यहाँ पुगिसकेपछि अनुजको डर धेरै कम भयो मनलाई बहकाए । आइसोलेसनमा रहँदा पनि उनले नियमित काम गरिरहे ।

    ‘मैले एउटा पनि सिटामोल नखाएरै कोरोना जिते । आत्मबल बढाए, खानपानमा ध्यान दिएँ, शारीरिक व्यायाम गरें र तातोपानी बढी नै खाएर कोरोनामुक्त भए’, उनले भने ।

    गत असोज १ गते साँझ पौने सात बजे उनको रिपोर्ट नेगेटिभ आयो । त्यही वेलानै उनी डिस्चार्ज भएर घर गए ।

    ‘डिस्चार्ज भए पनि डाक्टरले १४ दिन बाहिर ननिस्किकन घरमै बस्नु भन्ने सुझाएका छन् । त्यसले गर्दा, घरमै आराम गरिरहेको छु ।’

    आइसोलेसनको बसाइभन्दा पनि डिस्चार्ज भइसकेपछिको घरको अनुभव उनको नमिठो छ ।

    ‘म बाहिर यसो बार्दलीमा निस्किए भने सबै वरपरका भित्र पस्छन्, मलाई देखेर डराउछन् । यस्तो देख्दा मलाई नरमाइलो लाग्छ ।’

    तर, उनलाई घरबेटीले भने कुनै विभेद गरेका छैनन् । यसमा भने उनी खुसी छन् ।

    ‘घरबेटीले सँगै बसेर खाना खुवाएका छन् । यो कुरामा भने म निकै खुशी छु’, उनी भन्छन् ।

     


    आइतवार, आश्विन ४ २०७७०३:५१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij