काठमाडौं । माओवादी धारका ९ राजनीतिक दलहरूले आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसमक्ष माग गरेका छन् । काठमाडौंमा आइतबार(आज) आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपिल जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरूले आवश्यक कानुनहरू बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न सरकारसँग माग गरेका हुन् ।
दलहरूले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने जिम्मेवारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने बताएका छन् ।
संयुक्तरूपमा अपिल गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल रहेका छन् । उनीहरूले कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।
९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरू, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि अपिलसमेत गरेका छन् । त्यस्तै विगतमा राज्यले विभिन्न राजनीतिक दलहरूसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेका छन् ।