काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मूल्य र मान्यतालाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले यस्तो बताउनभएको हो । यस्तै महासचिव गुरुङले निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल विवादमुक्त हुन नसकेको बताउनुभएको छ ।
गुरुङले भन्नुभयो–राष्ट्रपति भनेको संविधानको परिपालक र संरक्षक हो । संविधानको परिधिभित्र रहेर काम गर्नुपर्ने पद हो । विद्या भण्डारीको इमानदारी र निष्ठाप्रति मेरो कुनै शंका छैन । राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षामा सक्षम पनि रहनुभयो । तर व्यक्तिगत रुपमा असल हुँदाहुँदै पनि उहाँको कार्यकाल विवादमुक्त हुन सकेन ।’
नेकपा एमालेको नेतृत्वको दबाब र प्रभावमा मुक्त नसक्नु भण्डारीको कमजोरी रहेको गुरुङको भनाइ छ । अर्को प्रसंगमा गुरुङले अहिलेको परिवर्तनको जग नै बृहत् शान्ति सम्झौता रहेको र अन्तरिम संविधानले त्यसलाई आफ्नो अंग बनाएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो–२०७२ को संविधानले पनि त्यसलाई अपनत्व लियो । संक्रमणकालीन न्यायको बाँकी कार्यभार सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने हो । संविधानको मार्गचित्र पनि त्यही हो । तर द्वन्द्वकालीन घटनालाई फौजदारी मानेर नियमित अदालतमा लगेर लैजानु बेठिक छ । यो संविधानको भावना विपरीत छ । यो भनेको क्षेत्राधिकार बाहिर जानु हो । बृहत् शान्ति सम्झौता उल्टाउन खोज्नु हो ।’