काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार(भोलि)को प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे सबै सांसदहररूको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो।
पहिले ९९.२५ प्रतिशत सांसदहररूको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले भोलि सय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’
प्रधानमन्त्री प्रचण्डले भोलिको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । उहाँलाई हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।