काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ । उहाँले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गर्नुभयो ।
बुधबार (आज) पत्रकार सम्मेलन गरेर उहाँले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गर्नुभयो ।
‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो’ उहाँले भन्नुभयो ।
करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उहाँले आफ्नो कुरा मात्र राखे । पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् । पत्रकारहरुले जनवरीमा भएको कुराकानी भन्दै आफैंले स्वीकार गर्नुभयो नि भन्ने प्रश्न गरे पनि उहाँले जवाफ दिएनन् ।
श्रेष्ठले आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने दाबी गर्नुभयो । अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको भन्दै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा मागेका छन् ।