Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका सबै अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस हुने

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका सबै अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस हुने

  • शुक्रवार, जेठ १९ २०८०

  • 1.7K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका सबै अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक  बहस हुने
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तकै बयान सकिएको छ। शुक्रबार(आज) तीन जनाको बयान सकिएसँगै पक्राउ परेका १८ जनै अभियुक्तको बयान सकिएको हो।
     
    यसअघि बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो। आज शुक्रबार भने नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको छ।
     
    पक्राउ परेका सबै अभियुक्तको बयान सकिएसँगै आइतबारबाट थुनछेक बहस सुरु हुने भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताउनुभयो। सबै अभियुक्तको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएका हुन्। अब आइतबारबाट उनकै इजलासमा थुनछेक बहस सुरु हुनेछ। यो प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन्। 
     
    अदालतले बयान सकेपछि अब आइतबारबाट थुनछेक बहस हुने भएको छ। आइतबारदेखि बहसको तयारी गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख नेउपानले बताउनुभयो । सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्।
     
    प्रतिवादीका तर्फबाट करिब ५० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन्। ३० प्रतिवादी भएको र पक्राउ परेका अधिकांश व्यक्तिहरूले २ भन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिएको जिल्ला अदालतले जनाएको छ।
     
    इजलासले समय निर्धारण गरेमा केही सहज र छिटो हुने नभए कम्तीमा १ साता बहस हुने अनुमान जिल्ला सरकारी वकिलको कार्यालयले गरेको छ। करिब १ साता बयानमा लागेको र एक सातामा थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ।
     
    अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरू त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउनेछन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउन सक्छ।


    शुक्रवार, जेठ १९ २०८००७:०७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij