काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहित गरी आफ्नो पार्टीमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताउनुभएको हो । कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटना भइरहेको उहाँको दाबी थियो ।
ओलीले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने चेतावनी दिनुभयो । उहाँले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैंनै सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको आरोप लगाउनुभयो ।