पोखरा । आज देखि पोखरामा नेपाल-चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ भव्यताका साथ शुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसंगको सहकार्यमा ड्रागन वोट महोत्सव शुरु भएको हो।
दक्षिण एशियाकै पहिलो पटक पर्यटकीय नगरी पोखरामा आयोजना गरिएको महोत्सव (फेस्टिवल ) को संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती तथा नेपालका लागि चिनीयाँ राजदूत छेन संगले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
महोत्सको उद्घाटन गर्दै मन्त्री किरातीले दुई देशबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउन यो महोत्सव फलदायी हुने बताउनु भयो । उहाँले नेपाल र चीनबीच हुने यस्ता कार्यक्रमले दुई देश बिचको सम्बन्धलाई थप उचाई प्रदान गर्ने बताउनु भयो ।
नेपालका लागि चिनीयाँ राजदूत छेन संगले नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने बताउनु भयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार भएको बताउँदै नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो महोत्सव र कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिएको उल्लेख गर्दै यो कार्यक्रम एकपटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोंच रहेको समेत जानकारी दिनुभयो ।
भोली सम्पन्न हुने प्रतियोगितामा नेपाली चार चिनियाँ चार गरी आठ समूह सहभागी छन् । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ ।
प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर, चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन बोट टोली नेपाल र पोखरा महानगर ड्रागन वोट टोलीले प्रतिस्पर्धा गरेका छन् ।
पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।