काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यले ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेको बताउनुभएको छ ।
शारदाप्रसाद त्रितालको प्रतिवेदनमै ललिता निवासको जग्गा पाउन र दिलाउन मुख्य भूमिका रहेका व्यक्तिहरुको नाम आइसकेकाले त्यो ओपन–सेक्रेट नै रहेको बताउँदै उहाँले पक्राउ परेका व्यक्तिको बयान, प्राप्त प्रमाण र अपराधको भारका आधारमा थप व्यक्तिहरु अनुसन्धानको दायरामा पर्ने स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले अहिलेनै क–कसलाई पक्राउ गर्छौं भनेर सार्वजनिक गर्नु उचित नभएको स्पष्ट पार्नुभयो । व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेको पनि उहाँको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा सीआईबीको अनुसन्धान फराकिलो भएको भन्ने प्रसंगमा एआईजी वज्राचार्यले आफूहरु सरकारी संस्थाहरुको तुलना गर्ने पक्षमा नरहेको औंल्याइउनुभयो ।
ललिता निवासको १४३ रोपनी जग्गा फिर्ता गरी दोषीलाई कारबाही गर्न नेपाल प्रहरी सक्षम हुने एआईजी वज्राचार्यको विश्वास रहेको छ ।
अनुसन्धानले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र उनको परिवारको नाममा २९ रोपनी १५ आना जग्गा रहेको देखिन आएको पनि वज्राचार्यले बताउनुभयो । साथै उहाँले प्रहरीको अनुसन्धानलाई सरकार र मिडिया सबैको साथ, सहयोग र समर्थन रहेको बताउनुभयो ।