काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् ।
कूटनीतिक स्रोतका अनुसार लू यही जुलाई महिनाभित्र नेपाल भ्रमणमा आउने निश्चित भए पनि अहिलेसम्म मिति तय भएको छैन ।
लू अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।
त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।
नेपालमा एमसीसी परियोजना पारित गराउन महत्वपूर्ण भूमिका खेलेका मानिएका लू सो समयमा नेपाल आएपछि एसपीपी परियोजनामा पनि नेपालले पूनर्विचार गर्नसक्ने आशंका गरिएको थियो । यद्यपि, उनले त्यस विषयमा खासै छलफल गरेका थिएनन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका लूले दुई दिनको नेपाल बसाइमा उनले नेपाल–अमेरिका व्यापार सम्बन्ध र सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।
नेपालको संसदबाट एमसीसी पारित हुनुपूर्व १ मंसिर २०७८ मा आउँदा उनले समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल(अमेरिका सम्बन्धका विषयमा छलफल गरेका थिए ।