काठमाडौं । पूर्व अर्थ सचिव रामेश्वर खनालले वर्तमान सरकार मुलुकमा विद्यमान समस्या समाधानका लागि लाचार सावित भएको टिप्पणी गर्नु भएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थसंवादमा पत्रकार टीपी भुसालसँग कुरा गर्दै खनालले देशका समस्या एकातिर तर सरकारको ध्यान अर्कोतर्फ केन्द्रित भएको आरोप लगाउनु भयो ।
मुलुक कोभिड १९ ले आक्रान्त भएको समयमा पनि सरकारसंग कसरी अगाडि बढ्ने कुनै स्पष्ट दृष्टिकोण नदेखिएकाले जनता निराश बन्नु परेको खनालको भनाई छ ।
‘सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योगी व्यवसायीलाई राहत दिने भनेर बजेट तथा मौद्रिक नीतिमा आएका कुरा, घोषणा गरिएका कुराहरु अहिलेसम्म कार्यान्वयनमा आउन सकेका छैनन, खनालको भनाई छ ।
‘देशमा खान नपाएर बाँच्न पनि मुस्किल परेर दैनिक हजारौं युवा रोजगारीको लागि भारत पलायन भएका छन् । भोका मानिस खुला मञ्चमा नागरिक समाजले चलाएको मेसमा खाना खाइरहेका छन । तर, सरकार सब ठिकठाक छ केही भएको छैन, कतै समस्या छैन भने जसरी प्रचारमा लागेको छ । यो भन्दा लज्जास्पद र लाचार कुरा के हुन सक्छ,’उहाँको प्रश्न छ ।
खनालले अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य सुरक्षाको मापदण्डलाई ध्यानमा राख्दै सरकारले व्यवसायीहरुलाई दिने भनिएका राहत उपलब्ध गराउनु पर्ने,प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता कार्यक्रम मार्फत युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्ने तर्फ तत्काल कदम चालन आग्रह गर्नु भयो ।
मुलुक विषम परस्थितीमा रहेको समयमा औचित्य विना नै नेता व्यवस्थापनको लागि मन्त्रालय फुटाउनेतर्फ लाग्नु जनताका समस्या समाधानमा सरकार गम्भिर छैन भन्ने स्पष्ट भएको बताउँदै खनालले अहिले देशको समस्या एकातिर सरकार अर्कोतिर हिँडिरहेको टिप्पणी गर्नु भयो ।
पूर्व अर्थसचिव खनालसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सक्नु हुनेछ ।
https://www.facebook.com/radionrn/videos/693022301315088