काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिकाले पछिल्ला तीन बर्षसम्म बेरुजु शुन्य बनाउन सफल भएको छ ।
देशभरका अधिकांश स्थानीय सरकारमा बेरुजु घटाउनु ठूलो चुनौतीको विषय बनिरहेका बेला सरुमारानी गाउँपालिका अहिले सबैका लागि उदाहरणीय बनेको छ । कतिपय स्थानीय जनप्रतिनिधिहरुले बेरुजु कम गराउने उपायहरुका बारेमा सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मासँग सल्लाह समेत लिने गरेका छन् ।
उहाँले प्रभावकारी समन्वय गर्ने, सरोकारवालाहरुलाई जिम्मेवार बनाउने तर हस्तक्षेप नगर्ने नीतिका कारण बेरुजु शुन्य बनाउन संभव भएको अनुभव पालिका वहसमा सुनाउनु भयो । नेपाली रेडियो नेटवर्कको पालिका वहसमा उहाँले बजेट छुट्याउने बेलामा पर्याप्त विश्लेषण र अध्ययन गरी परिवक्व भएर मात्रै छुट्याएपछि बेरुजु स्वतः कम हुने बताउनु भयो ।
पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले आफूले सञ्चालन गरेको छोरी पेवा बचत कार्यक्रमबाट छोरीहरुमा आत्मसम्मान र आत्मविश्वास बढेको दावी गर्नुभयो ।
उहाँले गाउँपालिकामा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधानका लागि ठूलो परियोजना ल्याएर एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिले २६ सय घरधुरीले पानी खान पाएको जानकारी दिनुभयो ।
सार्वजनिक यातायातले विद्यार्थीहरुलाई बोक्न नमान्दा विद्यार्थीहरुले अनुनय, विनय गर्नुपर्ने दृश्यदेखेर आफूले सार्वजनिक विद्यालयहरुका लागि वसको व्यवस्था गरेको उहाँको भनाई छ ।
सामुदायिक विद्यालयमा बसको व्यवस्था गरिदिएपछि विद्यार्थी र अभिभावकहरुलाई धेरै राहत भएको उहाँले दावी गनुभयो । किसानसँग गाउँ सरकार पनि उत्तिकै प्रभावकारी भई गाउँमा उत्पादन र आम्दानीको मात्रा बढेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।