काठमाडौं । नेपाली कांग्रेसका नेता सुनील शर्माले राज्यसत्तामा बसेर केहि मान्छेले लुटपात चलाइरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता शर्माले अर्थमन्त्री डा. प्रकाशशरण महतले शपथ लिएपछि बिनाकारण बहालवाला अर्थसचिवलाई परिवर्तन गरेको र अर्थमन्त्रालयअन्तर्गतको भन्सार कार्यलयको मूख्य मान्छेलाई पनि परिवर्तन गरेर आफ्नो पकडको मान्छेलाई राख्नुले पनि सुन प्रकरणमा कहि न कहि संलग्नता देखिएको आशंका व्यक्त गर्नुभयो ।
सबैतिर आफ्नै पकेटका मान्छेलाई राखेकाले पनि यसमा शंका गर्ने ठाउँ प्रसस्तै देखिएको सांसद शर्माको दाबी रहेको छ । यसरी पटकपटक सुन भित्रीँदा पनि अर्थमन्त्री र गृहमन्त्रीले थाहा नपाउनु मुलुकको लागि यो भन्दा विडम्बना र दुखद अरु हुन नसक्ने तर्क गर्नुभयो ।
दिनदहाडै अर्थमन्त्री र गृहमन्त्री मातहतका निकायहरुबाट सुन पास भएर, तस्करसँग मिलेर बाहिर पठाइसकेपछि अब गृहमन्त्री र अर्थमन्त्रीले कारवाही गर्छौ र पत्ता लगाउँछौ भन्ने हैसियत गुमाइसकेकाले नैतिकताका आधारमा राजीनामा दिनैपर्ने नेता शर्माको भनाइ रहेको छ ।
यस्तै नेता शर्माले गृह र अर्थमन्त्रीले राजीनामा दिन किन ढिला गरिरहुनभएको छ भन्दै प्रश्न गर्दै प्रमाणलाई नष्ट गर्ने काम भइरहेको आरोप समेत लगाउनुभयो ।
नेता शर्माले अस्ति १० गतेको प्रतिनिधि सभाको बैठकमा पनि गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्नुभएको थियो । सुन तस्करीमा प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने उहाँको माग रहेको थियो ।
सांसद शर्माल् गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्ने चेतावनीसमेत दिनुभएको छ ।