काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको हित र परिवर्तन भन्दा पनि आफ्नै हित र परिवर्तन लागि पदको उपयोग गरिरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले बेथितीको चाङ थुप्रिएको, अर्थतन्त्र चरम संकटमा पुगेको र बजेट सफल नभइरहेको अवस्थानमा हर हिसावले प्रचण्डको कार्यकाल असफल भएको दाबी गर्नुभयो ।
सुनतस्करी र भ्रष्टाचारका अनेक काण्डहरु खोल्ने व्यापक हल्ला गरिए पनि ती सबैका अनुसन्धानका प्रक्रियाहरु हेर्नेहो भने ठुलो आग्रहपूर्वाग्रह र मूख्य दोषीहरुलाई बचाएर सामान्य देखिएकालाई फसाउने, ढाकछोप गरेर टुङग्याउने गम्भिर षड्यन्त्र भइरहेको नेता बस्नेतको भनाइ रहेको छ ।
यस्तै नेता बस्नेतले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको इतिहासकै सबैभन्दा असफल मन्त्रीका रुपमा पहिचान बनेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । अन्तराष्ट्रिय चलखेल सहज रुपमा खेल्न दिइरहेका प्रधानमन्त्री प्रचण्डको खेल डरलाग्दो भएको पनि नेता बस्नेतको तर्क रहेको छ ।