काठमाडौं । संघीय र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरी बजेट बनाउदा बजेटमा तेहेरोपना भएको पाइएको छ । एउटै कामका लागि स्थानीय तहसँगै प्रदेश र संघीय सरकारले बजेट छुट्याउने गरेकाले कुनै काममा तेहेरो बजेट पर्ने र अरु धेरै कामका लागि बजेट नपर्ने गरेको पाइएको हो ।
संघ र प्रदेशले बजेट विनियोजन गर्दा स्थानीय सरकारको प्राथमिकता र सिफारिसका आधारमा समन्वय गरेर मात्रै गरिदिन स्थानीय तहका जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य तथा महिला विभाग संयोजक सुशीला शाहीले साना बजेटका योजनामा स्थानीय सरकारलाई र ठूला योजनामा प्रदेश र संघीय सरकारलाई कार्यक्षेत्र तोक्नु उपयुक्त हुने धारणा राख्नुभयो ।
नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका बहसमा उहाँले स्थानीय तहका बारेमा फैलिएका भ्रम चिर्न पालिका बसहबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “भ्रम छर्ने प्रबृत्ति छ, त्यसलाई चिर्न पालिका बहसले योगदान गर्छ भन्ने मलाई लाग्छ ।”
कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर समेत रहेकी शाहीले कुनैपनि विषयलाई तोडमोड नगर्न आह्वान गर्दै नराम्रा काम भएका छन भने पनि सत्य र तथ्यका आधारमा सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । “सत्य तथ्यसहित खवरदारी गरियो भने हामीले जानेर वा नजानेर गरेका कमी कमजोरी सच्याउने अवसर पनि पाउँछौँ, पदाधिकारीलाई खवरदारी गर्ने वा घच्घच्याउने काम त मिडिया र नागरिकहरुले गरिरहनु पर्छ,” उहाँले भन्नुभयो ।
मिडिया र जनताको खवरदारीकै कारणले आफ्नो संलग्नता विना आफ्नै सो रुमबाट स्कुटर किनिएको विषयले आफूलाई शिक्षा प्राप्त भएको मेयर शाहीको भनाई थियो । उहाँले सार्वजनिक जग्गा व्यक्तिलाई मिच्न नदिनु आफ्नो कर्तव्य भएकाले कुनै प्रभाव विना डढेर काम गरेको दावी गर्नु भयो । उहाँले सार्वजनिक जगामा बनाइएका घर पर्खाल भत्काउने कार्यमा कसैको सिको गरेको नभई स्थानीय आवश्यकताका आधारमा गरेको पनि स्पष्ट पार्नुभयो ।
सार्वजनिक जग्गामा व्यक्तिले बनाएका घर पर्खाल भत्काउँदा शतप्रतिशत जनता खुशी भएको मेयर शाहीले दावी पनि गर्नुभयो । उहाँले तत्कालीन मेयरको बेरुजूका बारेमा छानविन भइरहेको, नगरपालिकाले मेयरका लागि नभई अन्य कामका लागि गाडि किन्न लागेको, सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न लागिएको, नयाँ जन्मेका सबै छोरीलाई ऐन बनाएर दुई हजार रुपैयाँ दिइएको, विउ तथा मलमा अनुदान दिने गरेकोलगायतका धेरै राम्रा काम आफूले एक बर्षमा गरेको दावी गर्नुभयो । आफूहरुले अहिले बजारमात्रै नभई गाउँ गाउँमा पनि विकास निर्माण र सेवा प्रवाहका कामहरु गरेको उहाँले जानकारी दिनुभयो ।