काठमाडौं । नेकपा एमालेका नेता महेश वर्तौलाले सुन प्रकरणमा सरकार जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न तयार हुँदैन तबसम्म संसद चल्न नदिने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले बलियो सुरक्षा घेरा र भन्सारको चेकजाँच छ भनिएकै ठाउँबाट क्विन्टल सु तस्कर हुँदाखेरि सडकबाट समाइने अवस्थामा सरकारको उच्च तहको संलग्नता देखिने भएकाले प्रश्न सिर्जना भएपछि छानविनको घेरामा आउनुपर्छ भन्ने आफूहरुको माग भएकाले जबसम्म सरकारले छानविन समिती गठन गर्दैन तबसम्म संसद चल्न नदिने स्पष्ट पार्नुभयो ।
सरकारको काम गर्ने तरिका र भूमिकामा उठेको प्रश्नमा प्रस्ट पार्नुपर्ने पनि नेता बर्तौलाले बताउनुभयो । यो प्रकरणमा सरकारको संलग्नता रहेको भन्ने देखिने पछिल्लो समय विभिन्न प्रमाणहरु फेला परेकाले शंका गर्ने ठाउँ थुप्र्रै रहेको उहाँको दाबी छ ।
सुन तस्करीको प्रकरणमा सत्तासीन दलकै मुर्धन्य नेताहरु जोडिदैँ जानुले पनि अब झनै अनुसन्धान प्रभावकारी नहुनेमा आसंका व्यक्त गर्दै साना माछा, भरियालाई समाएर ठुला माछालाई उम्क्याउने खेल हुन खोजिरहेको आरोप लगाउनुभयो । यो प्रक्रियालाई निर्ममताका साथ टुङग्याउनुपर्ने, अनुसन्धान जरैसम्म पु¥याउनुपर्ने र कोहिकसैलाई छोड्न नहुने नेता बर्तौलाको भनाइ छ ।
उच्चस्तरीय छानविन समिती गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसद अवरोध गर्दै आइरहेको छ ।
नेपाललाई तस्करहरुको ट्रान्जिट प्वाइन्ट बन्न दिन नहुने बताउँदै नेता बर्तौलाले यदि सरकार यो प्रकरणमा संलग्न छैन भने छानविन समिती गठन गर्न किन डराइरहेको छ भन्दै प्रश्न गर्नुभयो ।