काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले आफ्नो पार्टीका नेताहरु सुन तस्करीमा नजोडिएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका पौडेलले यो प्रकरणमा जोडिएका व्यक्तिहरुसँगका फोटो आउँदैमा संलग्न भएको भन्न नहुने भएकाले फोटो मात्र जोडेर प्रचार गर्नु गलत हुने बताउनुभयो ।
फोटो संगै आएकोबारे सम्बन्धित व्यक्तिहरुले प्रस्ट पारिसकेकाले यसलाई पार्टी विशेषभन्दा जोडेर हेर्न नमिल्ने नेता पौडेलको तर्क रहेको छ ।
सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग निहुँ खोज्ने कुरा मात्र भएको उहाँको आरोप रहेको छ ।
छानबिनमाथि छानबिन आवश्यक नभएकाले राज्यको निकायले बनाएको समिति निष्कर्षमा नपुगे अर्को बनाउने तर अहिले जरुरी नभएको नेता पौडेलको भनाइ छ ।यस्तै, अर्को प्रसंगमा नेता पौडेलले मुलुकको आर्थिक अवस्था जटिल बनेका बेला कोसी प्रदेशमा मध्यावधि चुनावमा होमिनु नहुने कुरामा जोड दिनुभएको छ ।
यस्तै, पार्टीको केन्द्रीय समितिको बैठकपछि सरकारको कामको समीक्षा, विधान सम्मेलन, समाजवाद उन्मुख राज्य प्रणालीमा पार्टीको भूमिका, कार्यक्रम र कार्यविभाजन गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयो ।