काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नो पार्टीका नेताहरुलाई सुन तस्करीमा अनावश्यक रुपमा मुछ्न खोजिएको भन्दै आपत्ती जनाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका गुरुङले कुनै सन्दर्भमा भेटघाट भएको कुरालाई जोडेर प्रचार गरिएकोमा यथार्थता, सान्दर्भिकता र सत्यतथ्य केहि पनि नभएको दाबी गर्नुभएको छ ।
यो प्रकरणमा सरकारको छानबिन प्रक्रिया चलोस् र निर्दोष नपरुन्, दोषी नछुटुन् भन्नेमा पार्टी एकढिक्का रहेकाले यसमा मुछिएका जो कोही पनि सजायको भागी हुनुपर्ने नेता गुरुङको भनाइ छ ।
यस्तै, आजदेखि सुरु हुने केन्द्रीय समिति बैठक सामाजिक सन्जालमा प्रत्यक्ष गर्नेबारे आफूहरु सकारात्मक रहेको उहाँको भनाइ छ । बैठकका विषयमा उल्टापाल्टा समाचार आउने भएकाले प्रत्यक्ष प्रसारणमा जानु उपयुक्त हुने सुझाव आएको नेता गुरुङले बताउनुभएको छ ।
गुरुङले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणमा जाने कि नजाने, छलफलकै क्रममा रहेकाले स्थायी समितीको निर्णय पछि टुंगो लाग्ने स्पष्ट पार्नुभयो । लोकतन्त्रको विधि र प्रक्रिया अनुसार खुला छलफल गर्दा केहि फरक नपर्ने भन्ने कुरा उठेकाले पनि आजको बैठकलाई प्रत्यक्ष प्रसारण गरिने बढि संभवना रहेको उहाँको भनाइ छ ।
आजदेखि सुरु हुने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थिति, सांगठानिक स्थिति, आगामी योजना र समसामयिक प्रस्तावमा छलफल हुने पनि नेता गुरुङले बताउनुभयो ।
बैठक कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ ।