खोटाङको हलेसी तुवाचुङ नगर भित्र शिक्षाका नाममा कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ । नगर भित्र “जिरो फि” घोषणा गरी कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको नगरप्रमुख बिमला राईले जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका बहसमा उहाँले कक्षा ४ देखि ९ सम्म नगरस्तरीय लिने गरिएको र स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको बताउनु भयो । उहाँले आफू मेयर भएपछि मात्रै नगरपालिकाबाट एम्बुलेन्स सञ्चालन गरिएको र गर्भवती तथा सुत्केरीहरुहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क दिइएको जानकारी गराउनु भयो ।
मेयर राईले हलेसी त्रिधाम पनि आफ्नै नगरपालिकामा पर्ने भएकाले धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरको रुपमा हलेसी तुवाचुङ नगरपालिकालाई चिनाउन चाहेको अठोट व्यक्त गर्नुभयो । आफ्नो नगरपालिका सुख्खा ग्रस्त क्षेत्र भएकाले बदाम, कपास र गहत उत्पादनलाई प्राथमिकता दिदै त्यसका लागि अनुदान दिने गरिएको उहाँले जानकारी दिनुभयो ।
कृषि उत्पादनहरुको विक्रि वितरणका लागि एग्रो मार्टको निर्माण भइरहेको र भैसी प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउदै उहाँले हलेसी तुवाचुङ नगरपालिका मासुमा आत्मनिर्भर रहेको दावी गर्नुभयो ।
पसीना बगाए पैसाको समस्या हुदैन भन्ने भावना जगाउदै युवाहरुलाई विभिन्न साना व्यवसाय र रोजगारीका लागि तालिम, अनुदान लगायतको व्यवस्था गरिएको मेयर राईले जानकारी दिनुभयो ।
अघिल्लो कार्यकालमा उपप्रमख भएकाले अहिले नगर प्रमुख भएर काम गर्न सजिलो भएको उहाँको अनुभव छ ।
नेपाल नगरपालिका संघकी केन्द्रीय कोषाध्यक्ष समेत रहनु भएकी राईले नगरपालिकाहरुलाई सबल बनाउन र २२ एकल अधिकार कार्यान्वयन गराउन संघले ठूलो भूमिका खेलेको बताउनु भयो ।