काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका धेरै काममा नेपालकै पहिलो भएको मेयर अशोक कुमार व्यान्जु श्रेष्ठले दावी गर्नुभएको छ । उहाँले नगरपालिकाले गरेका राम्रा कामहरुको अध्ययन गर्न दैनिक विदेशी तथा स्वदेशी अध्येताहरु आउने गरेको जानकारी दिनुभयो ।
विभिन्न देशका ७ हजारभन्दा बढी नगर तथा संघहरु आवद्ध युसिएलजीको दक्षिण तथा पश्चिम एसिया अध्यक्ष समेत रहनु भएका व्यान्जु श्रेष्ठले संयुक्त राष्ट्रसंघीय निकायले आफ्ना अनुभव सुनाउन १३ देश निमन्त्रणा गरेको पनि बताउनु भयो ।
नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका वहसमा उहाँले राष्ट्रसंघको सहश्राब्दी लक्ष्यका चार मापदण्ड पुरा गरेको नेपालकै पहिलो नगरपालिका धुलिखेल भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले नगरपालिकामा १३ ओटा काम डिजिटल माध्यमबाट हुने, प्रत्येकमा एप्सबाट काम हुने भएकाले चाडै नै धुलिखेललाई नेपालको पहिलो डिजिटल सिटी घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार धुलिखेललाई हरियाली नगर र स्वच्छ नगरको रुपमा पनि घोषणा गर्न लागिएको छ । क्याम्पससम्म निःशुल्क शिक्षा भएको नगरपालिका धुलिखेल मात्रै भएको मेयर श्रेष्ठको दावी छ ।
पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले धेरै काममा एक नं. भइसकेको र अरु पनि धेरै काममा पहिलो हुनेगरी गुरुयोजना बनाएर धमाधम काम भइरहेको जानकारी दिनुभयो ।
नेपाल नगरपालिका संघका पूर्व अध्यक्ष समेत रहुन भएका श्रेष्ठले स्थानीय सरकारका एकल र संयुक्त अधिकार कार्यान्वयन गर्नका लागि ४६ ओटा कानुन बनाइएको र सबै अधिकार कार्यान्वयन भएको पनि बताउनु भयो ।