काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष माधव नेपालको संलग्नता देखिए पार्टीले नबचाउने स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले आफूले गलत गरेको भए हत्कडी लगाउन तयार रहेको भन्दै माधव नेपालले पनि गलत गरेको भए हत्कडी लगाउन तयार छु भनेर भन्नुपर्ने तर्क गर्नुभयो ।
पार्टी स्थापनाको दुई वर्ष पूरा हुँदै गर्दा आफूहरुबाट थुप्रै कमिकमजोरी भएको स्विकार्दै उहाँले गलत काम गरेको भए जतिसुकै ठूलो पदको व्यक्ति भएपनि छानबिनको दायरामा आउनुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै, उहाँले आफ्नो पार्टी वैचारिक र संगठानिक रुपमा रुपान्तरण हुन लागेको पनि स्पष्ट पार्दै आफूहरु नीति निर्माणको तहमा पुगेको बताउनुभएको हो ।
आफूहरुले गरेको विद्रोहलाई पुष्टि गर्न र संस्थागत गर्न यही वर्षको अन्तिमतिर महाधिवेशन गर्ने तयारी भएको जानकारी दिनुभयो । अहिले पार्टीमा नेतृत्वको कुरा मुख्य विषय नभएको पनि नेता खनालको भनाइ छ ।