काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने बताउनुभएको छ ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार बन्नुभन्दा पहिला नै ३३ किलो सुन आएको बताउनुभयो । ‘हाम्रो सरकार बन्नुभन्दा अघि उताबाट सुन आउने र उता जाने भएको रहेछ’, ओलीले भन्नुभयो, ‘हामीले छानबिन समिति बनायौँ, तर सुन भेटिएन । केही मानिस पक्राउ परेका छन् र उनीहरूमाथि कारबाही पनि भइरहेको छ ।’
‘उनीहरूमाथि छानबिन समिति बनाएर कानुनको कठघरमा ल्यायौँ । सरकारलाई चित्त बुझेको छैन भने अझै त्यस विषयमा थप छानबिन गरोस्’, ओलीको भनाई छ । उहाँले नेकपा एमालेलाई सरकारमा जाने चिन्ता नभएको भन्दै चिन्ता देशको रहेको बताउनुभयो ।