काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद अवरोध हुने कार्य जस्ले गरे पनि गलत भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले कुनै नियमावली र नियमले दिएको विषय नभएकाले संसदलाई यसरी लगातार अवरोध पारिनु गलत भएको बताउँदै दबाब सिर्जना गर्नका लागि यस्तो ढंगले प्रस्तुत हुने कुरा स्वभाविक नभएको तर्क गर्नुभयो ।
कुनै पनि भ्रष्टाचार र बेथितीविरुद्ध सत्यतथ्य छानविन हुनुपर्छ भन्ने आफूहरुको पनि दबाब भएको तर यी सबै बोल्ने थलो संसद नै अवरोध भने पार्न नहुने कुुरामा नेता पौडेलको जोड छ ।
बन्द र अवरोध गरेर खोजेको कुरा प्राप्त नहुने बताउँदै नेता पौडेलले कांग्रेस जस्ले जे भन्यो त्यतै जाने र लाग्ने पार्टी नभएको स्पष्ट पार्नुभयो । नेपाललाई सबैखाले भ्रष्टाचारको काण्डहरुबाट मुक्त गर्न सबै लाग्नुपर्ने कुरामा पनि नेता पौडेलले जोड दिनुभयो ।
एमालेले भने सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै यहि साउन १० गतेदेखि लगातार संसदका दुवै बैठक अवरोध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ ।
यता, सत्तारूढ गठबन्धनले भने उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । एमालेले उच्चस्तरीय छानबिन समितिको माग र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पु¥याउनु भएको गठबन्धनको ठहर छ ।