काठमाडौं । देशमा राजनीतिक संघीयता आएपनि प्रशासनीक संघीयता नआएको विज्ञहरुले टिप्पणी गरेका छन् । उनीहरुले राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र नै यसको मुख्य कारक भएको पनि दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा स्थानीय मामिलाका विज्ञ राजेन्द्र प्याकुरेलले प्रशासनीक संघीयताको मर्म लागू हुन नसकेको अनुभव सुनाउनु भयो ।
उहाँले राजनीतिक र प्रशासनीक क्षेत्रकै व्यक्तिहरुबाट प्रशासनीक संघीयताको मर्मलाई वेवास्ता गरिएको आरोप पनि लगाउनु भयो । स्थानीय तहका एकल अधिकारमाथी संघीय र प्रदेश सरकारले हस्तक्षेप गर्ने र साझा अधिकार कार्यान्वयनका लागि सहजिकरण नगर्ने समस्या देखिएको उहाँले उल्लेख गर्नुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक समेत रहनु भएका प्याकुरेलले तीन तहको सरकारका बीचमा समन्वय र सहकार्यको जिम्मेवारी पाएका निकायहरुले प्रभावकारी भूमिका नखेल्दा समस्या उत्पन्न भएको बताउनु भयो ।
उहाँले तीन तहका सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन गर्दा स्थानीय सरकारको अधिकार संकुचित नगर्न ध्यानाकर्षण गराउनु भयो । शिक्षा विधेयकमा महासंघले विरोध गरेको नभई कतिपय व्यवस्था संशोधन गर्न माग गरेको पनि कार्यकारी निर्देशक प्याकुरेलले स्पष्ट पार्नुभयो ।