काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको स्थितिप्रति बेवास्ता गरेकोप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी यस्तो बताएको हो ।
डा. केसीको १९ औं आमरण अनसनका सम्बन्धमा संघका तर्फबाट सरकारको ध्यानाकर्षण गराइसकिएको तर २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेको संघले आपत्ति जनाएको छ ।
संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. गोविन्द केसीको जीवन रक्षाका लाथि हुनसक्ने विरोधका कार्यक्रमलाई मध्यनजर गर्दै सरकारले यथाशिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्न हामी आग्रह गर्दछौं ।’
संघले ७२ घण्टाभित्र वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका लागि कुनै पहल अघि नबढाइए जस्तोसुकै कठोर कदम चाल्न वाध्य हुने र यसबाट उत्पन्न हुनसक्ने गम्भीर परिस्थितिप्रति सरकार आफैं जिम्मेवार हुने चेतावनीसमेत दिएको छ ।