काठमाडौं । नेकपा माओवादी केन्द्र का नेता लेखनाथ दाहालले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको ‘फेस सेभिङ’का निम्ति सुन तस्करीमा अध्ययन टोली बनाउने उधारो सहमति भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले एमाले सामु सरकारले आत्मसमर्पण ग¥यो भन्नु गलत भएको समेत बताउँदै सुन कसरी भित्रिन्छ, संरचनात्मक समस्या के हो, कानुनी उल्झन के के छन् भनेर सुझाव पेस गर्ने गरी अध्ययन टोली बन्न लागेको स्पष्ट पार्नुभयो ।
यस्तै यो सुन तस्करीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नै गर्ने पनि दाहालको भनाइ छ । अहिले कुनै पनि उच्चस्तरीय छानबिन समिति गठन नगरिएको र संस्थागत अपराध, राजस्व छली, अन्तरदेशीय अपराधको अनुसन्धान सीआईबीले नै गर्ने र सिआइबीको अनुसन्धानलाई प्रभाव नपार्ने गरी अध्ययन टोली बन्ने नेता दाहालले प्रष्ट पार्नुभयो ।
एक महिनासम्म सदनलाई बन्धक बनाएको जिम्मेवारी एमालेले लिनुपर्ने पनि सांसद दाहालको भनाइ छ । यस्तै अर्को प्रसंगमा उहाँले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको सत्तापक्षले सम्मान गर्ने पनि बताउनुभएको छ ।