काठमाडौं । नेकपा एमालेका नेता ऋषिकेश पोखरेलले संसदीय समिति बनाउन भएको ढिलाइमा सरकार, सभामुख र संसद् नै जिम्मेवार रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संसद्को सार्वजनिक लेखा समितिका निर्विरोध निर्वाचित सभापति समेत रहनुभएका पोखरेलले संसदीय समिति बन्न सात महिना लागेको र त्यसपछि सभापति बनाउन पनि गाह्रो भएकाले समग्र समिति बन्न धेरै समय किन लाग्यो भन्ने जवाफ सरकार, सभामुख र संसद्ले दिनुपर्ने स्पष्ट पार्नुभयो ।
संसदीय समितिलाई भूमिकाविहीन बनाउनु राम्रो नभएको पनि उहाँको तर्क छ । सभापति पोखरेलले सार्वजनिक लेखा समितिले मुलुकको संविधान र कानुनको अधिनमा रहेर सार्वजनिक खर्चमा निगरानी राख्ने, आर्थिक अनुशासनलाई व्यवस्थित गर्ने, दिगो र आत्मनिर्भर अर्थतन्त्र निर्माण र नीतिगत सुधारका लागि सल्लाह र सुझाव दिने आदि काम गर्ने बताउनुभएको छ ।
लामो समयदेखि धेरै काम थाती रहेका बताउँदै उहाँले अब आफूहरु अहिले निकै चुनौतीमा रहेको स्पष्ट पार्नुभयो । मुलुक आर्थिक अनुशासन ठीक बाटोमा जान नसके झन् अप्ठ्यारो हुन सक्ने भएकाले नियमनकारी निकायलाई प्रभावकारी, जवाफदेही र उत्साहित बनाउन सकारात्मक बाटोबाट छलफल गर्नु आवश्यक रहेकोमा नेता पोखरेलले जोड दिनुभयो ।
सार्वजनिक लेखा समितिले राजनीतिभन्दा माथि उठेर काम गर्ने पनि पोखरेलको भनाइ छ ।