काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले एमसीसी नेपाल र नेपालीको हितमा नभएकाले खारेज गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रकाण्डले एमसीसी विकासका लागि हो भन्नु अफवाह मात्र भएकाले यो नेपाललाई दक्षिण एसियाको युक्रेन बनाउने डिजाइन रहेको दाबी गर्नुभयो ।
एमसीसीको व्याख्यात्मक घोषणालाई एमसीसीको अंग नबनाएर थाङ्नामा सुताउने काम भएको पनि उहाँको दाबी छ । यस्तै नेता प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमसीसी कार्यान्वयनको सहमति नगर्दा सरकार ढल्छ भने पनि त्यसका निम्ति तयार हुनुपर्नेमा जोड दिनुभयो ।
प्रचण्डले एमसीसी कार्यान्वयन गर्छु भनेको आफूले नसुनेको बताउँदै एमसीसी कार्यान्वयन सहमतिमा कुनै पनि हालतमा हस्ताक्षर गरउन नहुने तर्क गर्नुभयो ।
यो समाजवादी मोर्चाको सैद्धान्तिक मान्यता विपरीत रहेकाले प्रधानमन्त्रीलाई हस्ताक्षर नगर्न र नगराउन जोड दिनुपर्ने पनि उहाँको भनाइ छ । यस्तै नेता प्रकाण्डले एमसीसी कार्यान्वयन सहमति भए आफ्नो पार्टीका लागि मान्य नहुने स्पष्ट पार्नुभयो । आफूहरु भदौ ६ गतेदेखि संघर्षमा रहेको स्मरण गराउँदै उहाँले देशव्यापी विरोध प्रदर्शनमा जाने चेतावनी दिनुभयो ।
एमसीसी कार्यान्वयनको सहमति नगर्न दबाब दिन नेकपा महासचिव नेत्रविक्रम चन्दसहित आफू प्रधानमन्त्री प्रचण्डसँग आज बालुवाटारमा भेट्न लागेको पनि उहाँले बताउनुभयो । उक्त भेटमा माधव नेपाल लगायत समाजवादी मोर्चाका नेताहरु पनि सहभागी हुने उहाँको भनाइ छ ।