काठमाडौं । वरिष्ठ लोकगायक नारायण रायमाझीको साङ्गीतिक साँझ आज (शुक्रबार) हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ–२०८० हुन लागेको हो । कार्यक्रम दिउँसो १ बजे शुरु हुने छ ।
प्रतिष्ठानको गत फागुनमा सम्पन्न भएको आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले साङ्गीतिक साँझ कार्यक्रम गर्ने निर्णय गरेको थियो । संगीतकारसमेत रहनुभएका रायमाझीले आजको कार्यक्रममा आफ्ना सदाबहार चर्चित गीतहरू प्रत्यक्ष गाउनु हुने भएको छ ।
साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ । रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा शुरु गर्नु भएको हो । रायामाझीका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, गेटमा वेली जाई, कालो केशमा रातो रिबन, नमुछे आमा दहीमा टीकालगायत सयौं गीत चर्चित छन्। साङ्गीतिक साँझको मिडिया पार्टनर नेपाली रेडियो नेटवर्क पनि रहेको छ ।