काठमाडौं । स्थानीय सरकारलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सार्वजनिक खरिद ऐन २०६३का कतिपय असान्दर्भिक र अव्यावहारिक व्यवस्थाले प्रभावकारी कार्यसम्पादनमा बाधा भइरहेको उनीहरुको गुनासो छ ।
स्थानीय मामिलाका विज्ञ तथा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार लेखनाथ पोखरेलले तत्कालिन अवस्थामा लागू गरिएको ऐन अहिले धेरै असान्दर्भिक भइसकेकोले तत्काल संशोधनको खाँचो रहेको तर्क गर्नुभयो ।
“कतिपय व्यवस्थाहरु अहिले अनावश्यक र अव्यवहारिक रहेको र त्यसलाई पनि प्रक्रिया पुरा गर्ने नाममा अपनाउनै पर्ने भएकाले अनावश्यक झमेला भइरहेको छ,” उहाँले भन्नुभयो ।
ऐनमा उल्लेख भएका कतिपय प्रक्रियाको विकल्पमा अहिले अन्य प्रभावकारी र सजिला उपायहरु हुँदा हुँदै पनि पुरानै प्रक्रिया लागु गर्नुपर्दा समस्या भएको उहाँको भनाई छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहनु भएका पोखरेलले खरिद ऐनको अव्यवहारिकताकै कारणले धेरै स्थानीय सरकारको अनावश्यक वेरुजु देखिएको दावी गर्नुभयो ।
खरिद ऐनको अव्यवहारिकताका बाबदुत पनि संघ र प्रदेश सरकारकोभन्दा स्थानीय सरकारको बेरुजु धेरै काम रहेको उहाँले जानकारी दिनुभयो । उहाँले संघीयताको मर्म विपरित स्थानीय तहका काम पनि संघ र प्रदेश सरकारले गर्न खोजेकाले संघीयताको गलत अभ्यास र बदनामी भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सांसदहरुलाई छुट्टै बजेट दिने व्यवस्था पनि गलत भएको दावी गर्दै उहाँले संघ र प्रदेशले ठूला परियोजनाको काम मात्रै गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारका पक्षधर समेत मानिनु हुने पोखरेलले जनताको सेवा र विकास स्थानीय सरकारले नै गर्ने हो भन्ने बुझाई स्थापित नहुँदासम्म स्थानीय सरकार शसक्त र प्रभावकारी हुन नसक्ने तर्क गर्नुभयो ।