काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द ढुङगानाले कोशी प्रदेशविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयलाई स्विकार गर्नै पर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुर गर्दै पूर्वमन्त्री समेत रहनुभएका ढुंगानाले आफूहरु लोकतन्त्रलाई विश्वास गर्ने भएकाले पनि अदालतले गरेका सबै निर्णयलाई स्विकार गर्दै आइरहेको र हिजोको निर्णयलाई सहर्ष स्विकार गरेको बताउनुभयो ।
कोशीमा एमालेले उपसभामुखलाई अनुपस्थित गराएर अस्थिरता निम्त्याउने खेल खेलेको आरोप लगाउँदै उहाँले योे खतरनाक रहेको टिप्पणी गर्नुभएको छ । यस्तै उहाँले एमालेसँग मिलेर सरकार बनाउने कुरा अहिले नै सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त हुनुभएको छ ।
सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिजो सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतले एमालेका हिक्मतबहादुर कार्कीले दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो । यस्तै सर्वोच्चले मुख्यमन्त्रीमा कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न आदेश दिएको छ ।
संविधानको धारा १६८को उपधारा २ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश गरेको हो ।
यस्तै नेता ढुंगानाले सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण कहीं न कहीं गणतन्त्र र संविधान सिध्याउने षडयन्त्र भएको बताउनुभएको छ ।
अर्को प्रसंगमा नेता ढुंगानाले आफूहरु अहिले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले अहिलेको सत्ता गठबन्धन टुट्ने कुनै पनि सम्भावना नरहेकाले पाँच वर्षसम्मै टिक्ने दाबी समेत गर्नुभयो ।