काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुर गर्दै पूर्वमन्त्री समेत रहनुभएका गुरुङले भ्रष्टाचारविरुद्ध कारबाही गरिरहेका बेला गृहमन्त्रीले किन राजीनामा दिने भन्ने प्रश्न गर्नुभयो । यस्तै नेता गुरुङले अहिले सत्ता गठबन्धन सरकारले पाँच वर्ष निरन्तरता पाउने दाबी समेत गर्नुभयो ।
सुन प्रकरणमा पक्राउ परेका व्यक्ति फलानो पार्टीको भन्नुको औचित्य नभएकाले भ्रष्टाचारमा माओवादी मात्र नभइ जो कोही हुन सक्ने र गैरकानुनी काम गरेका जोसुकै पनि पक्राउ पर्र्ने स्पष्ट पार्नुभयो ।
यस्तै नेता गुरुङले चिनियाँ राजदूतको अभिव्यक्तिमा चिन्ता गर्नुपर्ने विषय नभएको बताउनुभएको छ । हरेक मुलुकको आफ्नै अस्तित्व, स्वाधीनता र सार्वभौमिकता हुने बताउँदै उहाँले आन्तरिक मामिलाका विषयमा टिकाटिप्पणी गर्न नहुने कूटनीतिक मान्यता भएकाले त्यस अनुकूल वा प्रतिकूल के भएको छ भन्ने परराष्ट्र मन्त्रालयले समीक्षा गरिरहेकको स्मरण गराउनुभयो ।
आवश्यक परे परराष्ट्र मन्त्रालयमार्फत आपसी संवाद र कुराकानीबाट समाधान गर्नुपर्ने हुने भएकाले यसमा चिन्ता गर्नुपर्ने कारण नभएको नेता गुरुङको भनाइ छ ।
यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा आवश्यक परे कुराकानी हुने पनि दाबी गर्नुभएको छ ।