काठमाडौं । देशभरका सबै स्थानीय सरकारलाई उत्पादनमा केन्द्रीत हुन इलाम नगरपालिकाका प्रमुख केदार थापाले आग्रह गर्नु भएको छ ।
स्थानीय सरकारप्रति जनताको सबैभन्दा बढी भरोसा र अपेक्षा भएकाले उत्पादनमा केन्द्रीत भएर नै जनताको अपेक्षा पुरा गर्न सकिने उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा नगर प्रमुख थापाले उत्पादनबाट जनतालाई आम्दानी र रोजगारी हुने भएकाले पालिकाहरुले उत्पादनका लागि सघाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले एउटा पालिकाले गरेको राम्रो अभ्यास अर्को पालिकाले पनि अध्ययन गरेर सिक्ने र लागू गर्ने अभियान नै चलाउनुपर्ने बताउनु भयो ।
“देशका अरु पालिकाहरुले के कस्ता राम्रा काम गरेका छन भन्ने कुरा सबै पालिकाका जनप्रतिनिधिहरुले अध्ययन गर्ने, सोधीखोजी गर्ने गर्नुपर्दछ र त्यसबाट सिकेर आफूले पनि लागू गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।
मेयर थापाले आफ्नो सुरले मात्रै काम गर्दा, अरुको सिक्ने बुझ्ने तर्फ ध्यान दिइएन भने धेरै कुराबाट पछि पर्न सकिने आशय व्यक्त गर्नुभयो । कृषि तर्फ युवाहरुलाई आकर्षित गर्न इलाम नगरपालिकाले धेरै सहुलियत र राहतका कार्यक्रमहरु बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
मेयर थापाले स्वास्थ्य सेवालाई सर्बसुलभ गराउन स्वास्थ्य सेवा कोष स्थापना गरी राहत तथा सहुलियत दिने गरेको बताउनु भयो । उहाँका अनुसार इलाममा अहिले पाँच ओटा डायलाइसिस मेसिन सञ्चालन गरी मृगौला पिडितहरुलाई निःशुल्क सेवा दिइएको छ ।